मुगुको रारा जाँदै गरेको जिप ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

Image
Nisarga Hospital

मुगुमा रारा ताल घुम्न जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप आइतबार साँझ करिब पौने ५ बजे छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित कच्ची सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको मुगुका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए। गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालक ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र उनकी ५४ वर्षीया श्रीमती अन्जु थापा घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंको टोली रारा ताल अवलोकनका लागि जाँदै गर्दा गन्तव्य पुग्न करिब चार किलोमिटर बाँकी रहँदा दुर्घटनामा परेको थियो। प्रारम्भिक अनुमानअनुसार सडक भासिएपछि जिप अनियन्त्रित भएर खसेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।