
अत्तरियाः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा अत्तरिया तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णिम सफलता हासिल गरेका छन्।

प्रतियोगिताको क्योरुगी विधाअन्तर्गत पुरुष ६३ केजी तौल समूहमा किशोर भट्टले स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। त्यसैगरी, पुम्से विधाको ग्रुप पुम्से प्रतिस्पर्धामा अमन चौधरीले पनि स्वर्ण पदक हासिल गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुन सफल भएका छन्।
वि.सं. २०७४ सालदेखि निरन्तर तेक्वान्दो प्रशिक्षण प्रदान गर्दै आएको अत्तरिया तेक्वान्दो डोजाङले खेलकुदको विकाससँगै थुप्रै राष्ट्रिय खेलाडी तथा राष्ट्रिय निर्णायक उत्पादन गर्दै आएको छ। यी उपलब्धिले डोजाङको निरन्तर साधना, अनुशासन र खेलप्रतिको समर्पणलाई पुनः प्रमाणित गरेका छन्।
दुवै खेलाडीको यस ऐतिहासिक सफलताप्रति खुसी व्यक्त गर्दै डोजाङ प्रमुख, राष्ट्रिय खेलाडी तथा राष्ट्रिय निर्णायक इन्द्रबहादुर सिंहले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गर्नुभएको छ।





























