
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन्। गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् ।
सत्ता गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।




बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर बहुमत आउने नदेखेपछि पाण्डेले पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दल नेता हुन्। गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्। नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।


































