
अत्तरिया : नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई कारवाही गरेर देखाउन चुनौती दिएका छन् । गृह जिल्ला अछाम पुगेका नेता रावलले आज (मंगलबार) साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई कारवाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन् ।

देश जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढता पूर्वक खडा भएको केही मानिसहरूलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे । देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बिषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
पार्टी बिचार शून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।
पार्टीबाट कारवाहीको तयारी भईरहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘पार्टीको सिद्धान्त जोगाउनु पर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारवाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु ‘ पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।


उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।
गेटा मेडिकल कलेजमा एमबिबिएस अध्यापनका लागि अनुमति नदिएर सुदूरपश्चिम माथि विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रति निन्दा व्यक्त गरेका थिए । गेटामा एमबिबिएस अध्यापनको अनुमतिका लागि जनताहरू आन्दोलनमा उत्रिए आफू आन्दोलनको नेतृत्व गर्न तयार रहेको उनले बताएका छन् ।































