
यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पाँचौं जित हासिल गरेको छ । सोमबार मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १२३ रनले हराएको हो । १८४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोशीका लागि कप्तान सौजन घिमिरेले २६ र आशिष मगरले १३ रन बनाए ।

सुदूरपश्चिमका लागि सचिन भट्टले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ४ र आयुष द्वारियाले १ विकेट लिए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४७.४ ओभरमा १८३ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४ र अभिषेक थापाले ३७ रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले ४, बिपिन महत्तोले २ तथा आशिष मगर, प्रेम कामत र कृतिक कामतले १–१ विकेट लिए । जितसँगै सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने २ अंक जोडेको कर्णाली पुछारमा छ । सबै ५ खेलमा अविजित रहेको लुम्बिनी भने १० अंकसहित शीर्ष स्थानमा छ ।

सोमबार भएको अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको छ । सुरुवाती ४ खेलमा लगातार हार व्यहोरेको कर्णालीको यो पहिलो जित हो ।































