
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ। आइतबार राति १२:१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो। कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत रहेका शेर्पालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उहाँको निधनको पुष्टि खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले गरेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–1, लुक्ला स्थायी ठेगाना भएका शेर्पा दुई छोरा र तीन छोरीका पिता थिए। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई राजनीति क्षेत्रमा सक्रिय उहाँ नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति थिए। त्यस्तै, पर्यटन व्यवसायमा समेत आबद्ध उहाँ चौंरीखर्कका पूर्व गाविस अध्यक्ष पनि हुनुहुन्थ्यो।

वाइल्डलाइफ फोटोग्राफीमा विशेष सक्रिय रहेका शेर्पाले फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा योगदान पुर्याउनुभएको थियो। उहाँको फोटोग्राफीले नेपालका जैविक विविधता र संरक्षण प्रयासलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने काम गरेको छ।

चुङ्बा शेर्पाको निधनले नेपाली फोटोग्राफी, पर्यटन, र संरक्षण क्षेत्रमा ठूलो क्षति पुगेको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु। उहाँका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।





























