चिल्लो जापानी सडकमा दौडिँदा नेपाली बस यात्राको आत्मीयता सम्झाउने मन

Image
Nisarga Hospital

जापानको यामानाशीबाट राजधानी टोकियोको सिन्जुकु स्टेशनतर्फ तीव्र गतिमा हुइँकिरहेको हाइवे बसभित्र गहिरो शान्ति छ। बाहिर राजमार्गका दृश्य तीव्र गतिमा पछाडि छुटिरहेका छन्। बस करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको छ, तर भित्र भने यात्रुहरू आफ्नै संसारमा हराएका छन्। सबै सिट भरिएका छन्, मानिसहरू नजिकै छन्, तर एक–अर्कासँग अपरिचितजस्तै मौन छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

जापानी समाजमा अरूलाई असुविधा नपुर्‍याउने ‘मेइवाकु’ संस्कार निकै बलियो मानिन्छ। त्यसैले सार्वजनिक यातायातमा यात्रुहरू सकेसम्म शान्त बस्छन्। कोही ठूलो स्वरमा बोल्दैनन्, अपरिचितसँग कुराकानी गर्दैनन्। कोही किताब पढिरहेका छन् भने कोही मोबाइलको स्क्रिनमा व्यस्त छन्। आधुनिक प्रविधि र सुविधाले भरिएको यो यात्रामा सामाजिक दूरी भने निकै गहिरो देखिन्छ।

यस्तो दृश्यले नेपालका बस यात्राको सम्झना गराउँछ। नेपालमा बसमा छेउको सिटमा अपरिचित व्यक्ति बसे पनि केही मिनेटमै परिचय सुरु हुन्छ—‘घर कता हो?’, ‘कहाँ जाँदै हुनुहुन्छ?’ हुँदै कुरा राजनीति, परिवार, रोजगारी र गाउँघरको अवस्थासम्म पुग्छ। कहिलेकाहीँ अपरिचित यात्रु नै केही घण्टाको यात्रामा आफ्नै मान्छेजस्तो बन्न पुग्छ।

जापानको हाइवेमा बस पार्किङ क्षेत्रमा रोकिँदा पनि नेपालका नौबिसे, मुग्लिन वा अन्य राजमार्गका दृश्य सम्झनामा आउँछन्। नेपालमा बस रोकिएलगत्तै काँक्रा, मकै, चिजबल, पानीलगायत सामान बोकेर यात्रु नजिक पुग्ने व्यापारीका आवाज सुनिन्छन्। त्यहाँको भीड, आवाज र सानो बार्गेनिङभित्र पनि एउटा छुट्टै आत्मीयता हुन्छ।

जापानका पार्किङ क्षेत्रमा भने आधुनिक मेसिन, डिजिटल भेन्डिङ र प्याकेटमा तयार खानेकुरा सहजै उपलब्ध हुन्छन्। सुविधा प्रशस्त छ, तर नेपालका राजमार्गमा नुन–खुर्सानी लगाएर बेचिने ताजा काँक्राको स्वाद र त्यससँग जोडिएको मानवीय सम्बन्ध भने मेसिनले दिन सक्दैन।

यही भिन्नताले एउटा प्रश्न जन्माउँछ—के विकास भनेको सुविधा र मौनता मात्रै हो? के सभ्यता बढ्दै जाँदा मानिसबीचको संवाद र आत्मीयता घट्दै जान्छ?

नेपालको बस यात्रा अव्यवस्थित हुन सक्छ, भीडभाड र असहजता पनि हुन्छ। तर त्यही यात्रामा अपरिचितले पानी दिन्छ, बिरामी पर्दा सहयोग गर्छ र कहिलेकाहीँ आफ्नै गाउँठाउँको मानिस भेटिएझैँ आत्मीय कुराकानी हुन्छ। जापानमा सबै कुरा व्यवस्थित, समयमै र नियमअनुसार चल्छ; तर कहिलेकाहीँ त्यही पूर्ण व्यवस्थाभित्रको मौनता एक्लोपनजस्तो महसुस हुन सक्छ।

टोकियोका अग्ला भवनहरू नजिकिँदै गर्दा बस आफ्नो गन्तव्यतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। यात्रा छोटिँदै गएको छ, तर मन भने नेपालको सुस्त राजमार्गमै अडिएको छ—जहाँ बाटोमा खाल्डाखुल्डी भए पनि अपरिचितबीच आत्मीयता थियो, गीत चर्को भए पनि भावनामा न्यानोपन थियो।

भौतिक प्रगतिले मानिसलाई सुविधा र गति दिन सक्छ। तर मानिसको खुसी र आत्मीयताका लागि कहिलेकाहीँ त्यही पुरानो कोलाहल, सानो अव्यवस्था र मानवीय सम्बन्ध पनि आवश्यक हुँदो रहेछ। त्यसैले जापानको चिल्लो सडकमा तीव्र गतिमा गुडिरहँदा पनि मनले नेपालकै राजमार्गमा पाइने नुन–खुर्सानी लागेको काँक्राको स्वाद खोजिरहन्छ।

समुद्रपारी बाट केही शब्दहरु साभार