रोजगारीको अभावमा गुन्यालफाँटाका बादी परिवार भारत पलायन, दर्जनौं घरमा ताला

Image
Nisarga Hospital

स्वदेशमै रोजगारीको अवसर नपाएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका बादी समुदायका परिवारहरू बाध्य भएर भारततर्फ पलायन भएका छन्। जीविकोपार्जन गर्न कुनै विकल्प नदेखेपछि उनीहरूले घरमा ताला झुन्ड्याएर बालबच्चासहित भारतको विभिन्न सहरमा श्रम गर्न लागेका हुन्।

CP Hospital Dhangadhi

परम्परागत पेसा–व्यवसाय लोप भएपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी समुदायले त्यसको अवसर समेत गुमाउँदा भारतमा दरवान, कुल्ली, र अन्य श्रमिकका रूपमा काम गर्न बाध्य भएको बादी अगुवा पदम राना बादीले बताए। उनका अनुसार गुन्यालफाँटाबाट मात्र २० भन्दा बढी परिवार रोजगारीको खोजीमा भारत गइसकेका छन्।

परम्परागत पेसा संकटमा

nawajiwan

बादी समुदाय परम्परागत रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धूपदानी तथा मादल बनाउने पेशामा आबद्ध थियो। तर, वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन नपाउने, प्लास्टिकका सामग्रीको बढ्दो प्रयोगले परम्परागत व्यवसाय विस्थापित हुन पुगेको उनले बताए। बजारमा प्रतिस्पर्धा गर्न पुँजीको अभाव भएकाले यो पेसा झन् ओझेलमा परेको छ।

सरकारी तहबाट परम्परागत पेसा जोगाउन कुनै ठोस पहल नहुँदा बादी समुदाय थप समस्यामा परेको छ। “भारतीयहरूले माटोबाट विभिन्न सामग्री उत्पादन गरेर राम्रै आम्दानी गरिरहेका छन्, तर हामीसँग त्यही काम गर्न कुनै सहयोग छैन,” राना बादीले भने।

मजदुरी पनि गुम्यो, बाँच्ने आधार टुट्यो

Attariya Hospital

परम्परागत पेसा छाडेपछि वैकल्पिक रूपमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका बादी समुदायलाई कोरोना महामारीले थप संकटमा पार्यो। महामारीपछि रोजगारी झन् घट्दा उनीहरूको दैनिक गुजारामै समस्या पर्न थाल्यो। त्यसपछि बाध्य भएर उनीहरू बस्ती छोडेर भारत पलायन हुन थाले।

बादी समुदायका अनुसार संघीय राजधानीमा पुगेका कैयौँ आन्दोलन र सरकारसँग भएका सम्झौताहरू अझै कार्यान्वयनमा आएका छैनन्। सरकारले आवासको उचित व्यवस्था नगर्दा एकै घरमा तीन–तीन परिवार बस्न बाध्य छन्। केही परिवार भारत जान्छन्, तिनै परिवार फर्किएपछि अर्को परिवार जान्छ— यस्तो चक्र निरन्तर चलिरहेको छ।

बाँच्नै मुस्किल, आधारभूत सेवा सुविधाको अभाव

बादी समुदायका अर्जुन बादी भन्छन्, “बिहान खाना खाएपछि साँझको जोहो कसरी गर्ने भन्ने चिन्ता सधैं भइरहन्छ। बिरामी हुँदा उपचार गर्ने पैसा हुँदैन, रोग पालेर बस्नुपर्छ। आर्थिक अभावले बालबालिकालाई विद्यालय पठाउन सक्ने अवस्था छैन।”

बस्तीमा खानेपानीको पनि गम्भीर समस्या छ। ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ। खानेपानी आयोजना निर्माणका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बितिसक्दा पनि आयोजना अलपत्र अवस्थामा छ।

गुन्यालफाँटाको बादी बस्तीमा हाल ५० परिवारको बसोबास छ। तीमध्ये २० भन्दा बढी परिवार अहिले जीविकोपार्जनका लागि भारत गइसकेका छन्। रोजगारी, स्वास्थ्य र आधारभूत सुविधाको अभावमा बाँकी परिवार पनि पलायन हुने अवस्थामा छन्।