
नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत ६६.९ प्रतिशतले घटेको छ।

माघ १५ सम्म पेट्रोलको खपत ९.४९ प्रतिशत र खाना पकाउने एलपी ग्यासको खपत ६ प्रतिशतले बढेको देखिएको छ। तर, सोही अवधिमा डिजेलको आयात ६ लाख ९३ हजार ४६२ किलोलिटरमा सीमित रह्यो।
समग्र पेट्रोलियम पदार्थ आयातको करिब आधा हिस्सा डिजेलको रहेको छ। निगमका तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमा डिजेल ५० प्रतिशत, पेट्रोल २४ प्रतिशत, ग्यास १९ प्रतिशत, हवाई इन्धन ६ प्रतिशत र मटितेल १ प्रतिशत रहेको छ।


गत वर्ष मासिक औसत एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल मासिक खपत घटेर एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ।
भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँ कम हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले डिजेलको आयात रकम घटेको बताइएको छ। हाल नेपाली बजारमा डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ रहेको छ।






























