
आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ। यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिएका छन्। भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ।

सदस्य सचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताए।
पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ।


मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिए। पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन्। पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरिएको छ। यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदैछ। पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ। व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खुला गरिएको छ। कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम गरिएको छ। दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। सुरक्षा निकायसँगै कोषको आफ्नै सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ। साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ।
















