
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२, कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित एकीकृत प्रजनन स्वास्थ्य शिविरमा ९२ महिलाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।


गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड परीक्षण, यौन रोग व्यवस्थापनलगायतका सेवाहरू प्रदान गरियो।
शिविरमा ४२ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, ६ जनाको पाठेघर खसेको व्यवस्थापन, ११ जना गर्भवती महिलाको अल्ट्रासाउन्ड जाँच तथा ६ जनालाई इम्प्लान्ट सेवा प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले जानकारी दिए।
शिविरमा गेटा अस्पतालका डाक्टर तथा नर्सिङ टिमले प्राविधिक सहयोग गरेको थियो भने डा. समिता पुनले स्वास्थ्य परीक्षण गरेकी थिइन्।
गोदावरी नगरपालिकाका नगरप्रमुखले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। उनले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस्ता शिविरहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।































