
धनगढी: ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धनगढीको सौराई स्क्वायरले विभिन्न ६ विधाका महिलाहरूलाई सम्मान गरेको छ।

शिक्षा क्षेत्रबाट शान्ति भट्ट, स्वास्थ्यतर्फ सुलोचना अधिकारी, पत्रकारितामा शारदा फुलारा, व्यवसायमा निर्मला सिंह, कला-संस्कृतिमा सुशीला कार्की, र समाज सेवामा लक्ष्मीकुमारी बोगटीलाई ‘सौराई नारी सम्मान २०८१’ प्रदान गरिएको हो।
सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले सम्मान प्रदान गर्दै निजी क्षेत्रको यो कदमले तीन तहका सरकारलाई पनि प्रेरित गरेको बताइन्। उनले महिलाको योगदानलाई पहिचान गर्दै गरिएको यस्तो सम्मानले उर्जा थप्ने धारणा राखिन्।


सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले चर्चितभन्दा पनि समाजमा लुकेर कर्म गरिरहेका महिलाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष भरत बहादुर शाहले विदेशको आकर्षक जागिर त्यागी स्वदेशमै उद्यम गरिरहेका शाहको कार्यले युवाहरूलाई प्रेरित गर्ने बताए।
सम्मानित महिलाहरूको तर्फबाट शिक्षा क्षेत्रकी शान्ति भट्ट र स्वास्थ्य क्षेत्रकी सुलोचना अधिकारीले सौराई स्क्वायरलाई धन्यवाद ज्ञापन गरे।






























