
अत्तरिया: कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको १५ औं दिनको पुण्य तिथिमा शोक सभाको आयोजना गरिएको छ ।

बुधबार (आज) गोदावरी नगरपालिका वडा नम्बर- ४ को कार्यालयले वडाको सभाहलमा दिवंगत जोशीको सम्झनामा शोक सभाको आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

शोक सभामा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले नगरपालिकाले एक असल अभिभावक गुमाएको बताए । सामाजिक व्यक्तित्व भएको स्मरण गर्दै उनले समाज सेवामा नै जोशीले जिवन खर्च गरेको बताए ।
शोक सभामा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर- ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले खानेपानी लगायत दर्जन संघ संस्थाहरुमा जोशीको अतुलनीय योगदान रहेको बताए ।

लामो समयदेखि जोशीसंग सँग काम गरेको उनले स्मरण गर्दै उनले आफ्नो अभिभावक गुदाउँदा निकै पिडा महसुस भईरहेको बताए ।


युवा नेता लोकराज पान्डेय (आगो)ले जोशी जस्तो सहज र सरल व्यक्ति भेट्न मुस्किल हुने बताए । उनले सबैसंग समान व्यवहार गर्न सक्ने व्यक्ति जोशी रहेको भन्दै उनिसंग गरेका सहकार्यहरुको स्मरण गरे ।
सभामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जोशीको सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

गोदावरी-४ निवासी जोशीको ६८ वर्षको उमेरमा गत फागुन १५ गते निधन भएको थियो । निमोनियाको समस्याबाट ग्रसित जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको थियो ।
अत्तरिया खानेपानीको अध्यक्षमा दोहोरिएका जोशी सिएलसी अत्तरिया,प्रतिभा पुस्तकालय,राष्ट्रिय वन महासंघ लगायत करिब एक संघ संस्थाहरुमा विभिन्न पदमार्फत समाज सेवामा सक्रिय रहेका थिए ।






























