
पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लाहरूमा उल्लासपूर्वक मनाइँदैछ। फागु पर्वका रूपमा चिनिने होलीलाई यहाँ विशेष महत्वका साथ मनाइन्छ।

रङहरूको यो पर्व मित्रता, आत्मीयता, सामिप्यता, र सद्भाव प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। साथीभाइ, आफन्तजन भेला भई एकअर्कालाई रङ दलेर तथा शुभकामना साटासाट गर्दै होली मनाउने प्रथा रहेको छ।
पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएपछि भोलिपल्ट तराईमा मनाउने परम्परा छ। वसन्त ऋतुको आगमनसँगै एकआपसमा खुसी साटासाट गर्दै सामूहिक रूपमा रङ खेली पर्व उल्लासमय तरिकाले मनाइन्छ।


होलीमा प्रयोग गरिने विभिन्न रङहरूको धार्मिक तथा सांस्कृतिक महत्त्व छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ। भगवान गणेशलाई सबै रङ मन पर्ने विश्वास गरिन्छ भने रातो रङ शक्ति र सौभाग्यको प्रतीक हो।
पौराणिक मान्यताअनुसार, होली पर्व सत्य युगमा विष्णुभक्त प्रह्लादमाथि हिरण्यकश्यपुले गरेका अन्यायको अन्त्यको प्रतीक मानिन्छ। आगोबाट नजल्ने वरदान प्राप्त होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा प्रवेश गर्दा प्रह्लाद सुरक्षित रहेर होलिका नष्ट भएकी थिइन्। त्यसैले, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा होली पर्व मनाउने परम्परा रहिआएको छ।





























