
नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ थियो। त्यसपछि घटबढ भइरहेकाे सुनको मूल्य अहिले उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो। सोमबारको तुलनामा मंगलबार मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको हो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ।


























