
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीस्थित नवज्योति माध्यमिक विद्यालयको ‘विद्यार्थी तथा विद्यालय भलाइ कोष’मा समाजसेवी एवं नेकपा एमालेका जिल्ला लेखा कमिटी सदस्य बालकृष्ण भट्टराईले रु २५,००० सहयोग गरेका छन्।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका भट्टराईले शिक्षाको महत्वलाई आत्मसात् गर्दै विद्यालयका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका दिवंगत पिता नवराज भट्टराईले यसै विद्यालयमा अध्यापन गराएका थिए, जसले गर्दा उनको विद्यालयप्रति विशेष स्नेह रहेको उनले बताएका छन्।

विद्यालयका गतिविधिहरूमा विशेष चासो राख्दै भट्टराईले समय-समयमा आवश्यक सल्लाह र सुझाव दिँदै आएका छन्। विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्टले आफूले पढाएको बिद्यार्थी पनि रहेको भट्टराईप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा रहेको बताइन्। विद्यालय परिवारले बालकृष्ण भट्टराईलाई धन्यवाद दिँदै उनको उत्तरोत्तर प्रगतिको कामना गरेको छ।































