
अत्तरिया : सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा राखेको छ । मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै उनलाई शुक्रबार रातिदेखि नै अघोषित नजरबन्दमा राखिएको हो । पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्रलाई बाहिर निस्कन दिइएको पनि छैन ।

भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको स्रोतले जनाएको छ । सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया पनि अघि बढाएको छ । उनलाई मुलुकबाहिर समेत जान नदिने नीति सरकारले लिन लागेको छ ।

यसैबीच, सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ । गृहमन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए । सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो ।पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक ९डिएसपी० को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो ।

गृहमन्त्रालयले शुक्रबारको घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ जना सुरक्षाकर्मी घटाएको हो । गृहमन्त्रालयले पूर्वराजाको सुरक्षामा तैनाथ युनिट नै परिवर्तन गरेको छ । राजावादी समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले पूर्वराजाका गतिविधिमाथि निगरानी बढाउँदै प्राप्त सुविधा कानुनबमोजिम कटौती गर्ने तयारी समेत गरेको छ ।




























