
शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट रोक्न बहादुरीपूर्वक प्रतिकार गरेका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

बुधवार आयोजित सम्मान कार्यक्रममा अर्का सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ, साथै ड्युटीमा रहेका थप दुई जना कर्मचारीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ले सुरक्षाकर्मीहरूलाई पुरस्कारसहित सम्मान गरे। सुपरमार्केटमा तोडफोड तथा लुटपाट भइरहेको बेला कर्तव्यनिष्ठ भएर काम गर्ने सुरक्षागार्ड र घटनापछि रातभर मर्मत तथा सरसफाइमा खटिएका कर्मचारीहरूको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेल ले जानकारी दिए।


सुरक्षा गार्ड पराजुलीले लुटपाटमा संलग्न व्यक्तिहरूलाई लिस्टीले कुट्दै भगाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। दर्जनौँ लुटेरालाई एक्लै सामना गर्दै प्रतिकार गरेको भिडियोले धेरैको ध्यान तानेको छ।
लुटपाट तथा तोडफोडका कारण करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ। त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ। तर, घटनापछि पनि शनिवार बिहानैदेखि सुपरमार्केट पुनः सञ्चालनमा ल्याइएको थियो। रातभर सरसफाइ र मर्मत सम्भारमा खटिएका कर्मचारीहरूको समर्पणकै कारण सेवा पुनः सुचारु गर्न सफल भएको सुपरमार्केट प्रशासनले जनाएको छ।





























