
कैलालीस्थित गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ। मुटु रोग विशेषज्ञ डा. अजय भट्टको सरुवासँगै अस्पतालले यो सेवा औपचारिक रूपमा प्रारम्भ गरेको हो।

गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार डा. भट्ट यसअघि सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत थिए। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो।
डा. भट्टले मंगलबारदेखि ओपिडी सेवा सुरु गरेका छन्। सेवा सुरु भएसँगै अस्पतालमा दैनिक १० जना हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्।


डा. भट्टका अनुसार गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) जाँच सेवा उपलब्ध छ। उनले गेटामा निकट भविष्यमै क्याथ ल्याब सेवा सुरु गर्ने तयारी पनि भइरहेको जानकारी दिएका छन्।
हाल सुदूरपश्चिम प्रदेशमा क्याथ ल्याब सेवा उपलब्ध छैन। सो सेवा सञ्चालनमा आएमा हृदयघातलगायत गम्भीर तथा आकस्मिक मुटु रोगीहरूको उपचारमा ठूलो राहत पुग्ने चिकित्सकहरूको भनाइ छ।
































