
अत्तरियाः गोदावरी नगरपालिकामा रोजगारी शृजनाको सम्भावनालाई लिएर नेदरल्याण्डबाट आएको विदेशी टोली र चाँगुनारायण फाउन्डेसन झौखेल भक्तपुरको संयुक्त टोलीले नगर प्रमुख बिरेन्द्र भट्टसँग विशेष छलफल गरेका छन्।

छलफलका क्रममा गोदावरी नगरपालिकामा सञ्चालन गर्न सकिने सिपमूलक तालिमका विषयमा गम्भीर बहस गरिएको थियो। विशेषगरी नगर भित्र रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारमूलक तालिम सञ्चालन गर्न सकिने सम्भावनाहरूको पहिचान र आवश्यक सहकार्यका विषयमा छलफल भएको हो।

नेदरल्याण्डका पाहुना टोलीले तालिम सहयोगमार्फत युवाहरूलाई रोजगारीमा लैजाने दीर्घकालीन योजना बनाइ काम गर्ने प्रस्ताव प्रस्तुत गरे। उनीहरूले आगामी दिनहरूमा पनि गोदावरी नगरपालिकासँग सहकार्य गर्दै रोजगारी सिर्जनामा सशक्त पहल गर्ने प्रतिबद्धता जनाए।
नगर प्रमुख बिरेन्द्र भट्टले विदेशी टोली र फाउण्डेसनलाई स्वागत गर्दै गोदावरी नगरपालिकाको तर्फबाट पूर्ण सहकार्यको आश्वासन दिए। उनले भने, “हामी नगरपालिका भित्रको जनशक्ति र स्रोतलाई समन्वय गरी युवालाई सीपयुक्त बनाएर रोजगारीको बाटो खोल्न प्रतिबद्ध छौं।”

छलफल कार्यक्रममा नगर उप–प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, रोजगार शाखा प्रतिनिधी रोहित सुबेदी लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
छलफलपछि सहभागी टोलीहरूले तालिमका सम्भावित क्षेत्रहरूको अध्ययन गर्न स्थानीय स्थलगत अनुगमनसमेत गर्ने जनाएका छन्।
यस सहकार्यले गोदावरी नगरपालिकामा दीर्घकालीन रोजगारी शृजना मात्र नभई अन्तर्राष्ट्रिय साझेदारीको एउटा सफल नमुना पनि बन्ने विश्वास व्यक्त गरिएको छ।

































