
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काइ नियमित पठनपाठन सुनिश्चित गर्न सरकारलाई तीन दिनको समयसहित अन्तरिम आदेश दिएको छ। अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई शिक्षाबाट वञ्चित नगरिन आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’

सर्वोच्चले शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्ड परीक्षा प्रभावित भई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने खतरा रहेको औंल्याउँदै, परीक्षा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने स्पष्ट पारेको छ।

































