
देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ।

मौसमले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






























