
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले देशमै पहिलोपटक आफ्ना शिक्षक, लेखापाल, तथा कार्यालय सहयोगीहरूलाई समेटेर नागरिक पेन्सन योजना कार्यान्वयनको सुरुवात गरेको छ।

नगरपालिकाले नागरिक लगानी कोषसँग सहकार्यमा योगदानमा आधारित पेन्सन योजना प्रारम्भ गर्दै सामाजिक सुरक्षा कोषमा कर्मचारीहरूलाई आवद्ध गराउने प्रक्रिया थालेको हो।


यस ऐतिहासिक कार्यक्रमको अवसरमा गोदावरी नगर प्रमुख बिरेन्द्र भट्ट र उप–प्रमुख शारदा देवी रोकायाको अगुवाइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्षहरू, र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, उप–निर्देशक नारायण प्रसाद घिमिरे, तथा शाखा प्रमुख हरिशचन्द्र श्रेष्ठज्यू समेतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

नगर प्रमुख भट्टले भने, “यो योजना कर्मचारीहरूको आर्थिक सुरक्षातर्फको दूरदर्शी र सकारात्मक कदम हो। हाम्रो जनशक्तिको भविष्य सुनिश्चित गर्न नगरपालिकाले पहिलोपटक यस्तो ऐतिहासिक निर्णय लिएको छ।”

कार्यक्रममा नागरिक लगानी कोषका प्रतिनिधिहरूलाई मायाको चिनो दिँदै नगरपालिकाले सम्मानसमेत प्रदान गरेको थियो।

गोदावरी नगरपालिकाले आफ्नो नेतृत्वमा पहिलोपटक यस्तो कार्यक्रम लागू गरेर नजीर पेश गरेको छ, जुन अब अन्य पालिकाहरूका लागि पनि अनुकरणीय बन्ने विश्वास लिइएको छ।


अबदेखि गोदावरी नगर क्षेत्रका शिक्षक, लेखापाल, तथा अन्य कर्मचारीहरू पेन्सन योजनामार्फत सेवा निवृत्तिपछि पनि आर्थिक रूपमा सुरक्षित हुनेछन्, जसले सामाजिक सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
उक्त समझदारीअनुसार अब नगरपालिकाले प्रत्येक नगर शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी, तथा विद्यालय सहयोगी कर्मचारीको नाममा हरेक महिना पाँच सय रुपैयाँ जम्मा गर्नेछ, भने थप पाँच सय रुपैयाँ उनीहरूको तलबबाट कट्टी गरिनेछ।
नगरप्रमुख विरेन्द्र भट्टले नगर शिक्षकलाई प्रोत्साहित गर्न नागरिक लगानी कोषसँग समझदारी गरेर चालु आर्थिक वर्षदेखि नै ३० लाख रुपैयाँको बजेट व्यवस्थापन गरिएको जानकारी दिए।
कोषका कार्यकारी निर्देशक कार्कीले नागरिक लगानी कोषले सबै नागरिकलाई समेट्ने उद्देश्य राखेको बताए। मासिक पाँच सय रुपैयाँ बचत गरेर योजनामा सहभागी हुन सकिने उनले स्पष्ट पारे।
कोषका अनुसार त्योभन्दा माथि दसले भाग जाने (१० ले विभाज्य) जति रकम बचत गरेर पनि योजनामा सहभागी हुन सकिन्छ। बचत गरिएको रकमकै आधारमा व्यक्ति ६० वर्ष पूरा भएपछि पेन्सन प्राप्त गर्ने व्यवस्था गरिएको छ।
बचत रकम अनुसार पेन्सन हुने भएकाले जति बढी रकम बचत गरिन्छ, त्यति नै बढी पेन्सन प्राप्त हुने कोषले जनाएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले उक्त योजना करिब दुई वर्षअघि देखिनै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए। उनले नगरभित्रका १४२ जना नगर शिक्षकहरूलाई यो योजना लाभदायी हुने उल्लेख गरे। शिक्षामा गुणस्तर अभिवृद्धि गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने खालका योजनाहरू अगाडि सारिएको पनि उनले बताए।

‘हामी शिक्षामा गुणस्तर चाहन्छौं, तर पढाउने शिक्षकलाई प्रोत्साहित गर्ने वातावरण बनाउन नसकेको परिपाटी छ,’ उनले भने, ‘यहाँ अनुदानमा पढाइरहनुभएका शिक्षकहरूलाई सुरक्षित बनाउने उद्देश्यले नगर शिक्षकका रूपमा राखेका हौं।’
उनले यो योजनाबाट शिक्षकहरू सुरक्षित भएका र अब थप प्रोत्साहनद्वारा शिक्षाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको बताए।
यस्ता योजनाबाट केही हदसम्म भए पनि कर्मचारी तथा नगर शिक्षकहरूलाई राहत मिल्ने उनको भनाइ थियो। उनले नगरपालिकाले यस योजनाका लागि वार्षिक ३० लाख रुपैयाँ छुट्याएको जानकारी दिए।
‘चाहना धेरै भए पनि बजेटको अभावका कारण अहिलेको लागि मासिक पाँच सय रुपैयाँ मात्रै जम्मा गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘यो हाम्रो सुरुवात मात्रै हो, आगामी बजेटको पूर्वसन्ध्यामा यस योजनालाई नगरपालिकाको क्षमताअनुसार थप व्यवस्थित रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दछु।’



















