
यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा हालसम्मकै सबैभन्दा नाटकीय र श्वास रोक्ने खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई अन्तिम बलमा तीन विकेटले हराएको छ।

मंगलबारको खेल बारम्बार वर्षाले अवरुद्ध हुँदा खेल १९ ओभरमा सीमित गरिएको थियो। मुम्बई इन्डियन्सले दिएको १५६ रनको लक्ष्यलाई डकवर्थ-लुइस पद्धतिअनुसार १९ ओभरमा १४७ रन बनाउने रूपमा परिमार्जन गरियो, जसलाई गुजरातले ७ विकेट गुमाउँदै अन्तिम बलमा पुरा गऱ्यो।
१४ ओभरसम्म गुजरातले दुई विकेटको क्षतिमा १०७ रन जोडिसकेको थियो र वर्षा रोकिँदा ८ रनले अघि थियो। तर, खेल पुनः सुरु हुँदा मुम्बई आक्रमक रूपमा फर्कियो।


१५औँ ओभरमा जसप्रीत बुमराहले गुजरातका कप्तान शुभमन गिललाई ४३ रनमा आउट गर्दै खेलको दिशा नै मोडे। त्यसपछि मुम्बईको बलिङ आक्रमणले विकेटको वर्षा झार्यो। बुमराह र ट्रेन्ड बोल्टले संयमित बलिङ गर्दै नियमित अन्तरालमा विकेट लिंदै गुजरातलाई दबाबमा राखे।
१८औँ ओभरपछि फेरि पानी परेर खेल रोकियो, जसबेला मुम्बई ५ रनले अगाडि थियो। तर अन्तिम ओभरमा खेल फेरि सुरु हुँदा गुजरातलाई १५ रन आवश्यक थियो, जुन उसले नाटकीय रूपमा पुरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो।
बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १९ रन खर्चेर २ विकेट लिएका थिए तर उनको प्रयास मुम्बईलाई जित दिलाउन पर्याप्त भएन।
































