
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उज्वेकिस्तानविरुद्धको खेलमा गोल गर्दै उनी लगातार ६ संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा रोनाल्डोले छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। यसअघि डिआर कंगोविरुद्धको पहिलो खेलमा गोल गर्न नसके पनि दोस्रो खेलमै उनले ऐतिहासिक उपलब्धि हात पारे।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्मका सबै ६ विश्वकपमा गोल गरेका छन्। उनले २००६, २०१० र २०१४ मा १–१ गोल गरेका थिए भने २०१८ मा स्पेनविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए। २०२२ मा १ गोल गरेका र जारी विश्वकपमा पनि गोलको खाता खोलिसकेका छन्।

४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। यो कीर्तिमानमा भने क्यामरुनका रोजर मिल्ला शीर्ष स्थानमा छन्, जसले १९९४ विश्वकपमा ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए।






























