
भारत–पाकिस्तानबीच चुलिँदो तनावको पृष्ठभूमिमा नेपालले औपचारिक रूपमा भारतप्रति ऐक्यवद्धता जनाएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको कडा भाषाको विज्ञप्तिमा नेपालले आतंकवादविरुद्धको लडाइँमा भारतको साथमा रहेको स्पष्ट गरेको छ।

२२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक जना नेपाली नागरिकसहित २७ जनाको ज्यान गएपछि नेपाल सरकारले उक्त घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै ठोस समर्थन जनाएको हो।
आतंकवादविरुद्ध स्पष्ट सन्देश: “नेपाल कदापि चुप बस्दैन”
विज्ञप्तिमा भनिएको छ, “नेपाल सबै प्रकारका आतंकवाद र हिंसात्मक गतिविधिको कडा विरोध गर्छ र यस किसिमको निन्दनीय कार्यको विरुद्धमा जहिल्यै बोलिरहनेछ।” सरकारका अनुसार नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पुनः दोहोर्याएको छ।


क्षेत्रीय स्थायित्वमा जोड
नेपालले भारत–पाकिस्तानबीचको चुलिँदो तनाव कम होस् भन्ने चाहना व्यक्त गर्दै दक्षिण एशियामा शान्ति, स्थायित्व र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
नेपालको यो स्पष्ट र कूटनीतिक सन्देशले क्षेत्रीय सुरक्षा सन्तुलनमा तटस्थ नभई सक्रिय भूमिका निर्वाह गर्ने संकेत दिएको छ।
































