
दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित टिंकरका ७० परिवार छ महिनापछि आफ्नो गाउँ फर्किएका छन्। कठोर जाडो छल्न मङ्सिरमा खलङ्गा झरेका उनीहरू वैशाख अन्त्यमा मात्रै गाउँ फर्किएका हुन्। उच्च हिमाली क्षेत्र टिंकरमा चिसोका कारण हिउँदभरि बसोबास गर्न कठिन हुने भएकाले वर्षको आधा समय ‘कुञ्चा’ नामक परम्परागत बसाइँसराइ प्रचलन छ।

गाउँ पुग्न नेपाली बाटो नहुँदा स्थानीय भारतको बाटो हुँदै कष्टपूर्ण यात्रा गरेर फर्किन बाध्य भएका छन्। सरकारले चुच्चे नक्सा जारी गरे पनि भूभागमा पुग्न पैदलमार्गसम्म बन्न सकेको छैन। चालू आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाइएको भए पनि ढिलोगरी मात्र ठेक्का लागेकाले निर्माण कार्य अघि बढ्न सकेको छैन।
टिंकरमा स्वास्थ्य सेवा अभाव छ। सामान्य औषधिका लागि पनि भारतीय सुरक्षाकर्मीको सहयोग लिनुपर्ने अवस्था छ। स्वास्थ्य भवन निर्माण अलपत्र छ भने छाङ्गरूको स्वास्थ्य चौकी पुग्न पाँच घण्टा लाग्छ।


टिंकरमा नेपाली सुरक्षाकर्मी समेत वर्षको केवल छ महिना बस्न सक्छन्। अहिले सशस्त्र प्रहरी टिंकर पुगेका छन् भने नेपाल प्रहरी अनुमति प्रक्रिया पूरा गर्दैछ।
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र सीमापार व्यापारको सम्भावना बोकेको टिंकर पूर्वाधार अभाव र सरकारी बेवास्ताले समस्यामा परेको छ। स्थानीयले आफ्नै भूमिमा पुग्न भारतको बाटो र अनुमति लिनुपर्दा अपमानित महसुस गरिरहेका छन्।




















