
देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति रहेको छ।

देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले नै चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमको यस परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
।

















