
ओपनरद्वय साइ सुदर्शन र कप्तान शुभमन गिलको धमाकेदार ब्याटिङपछि गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको अपराजित जित निकाल्दै आइपीएल प्लेअफमा स्थान पक्का गरेको छ।

आइतबारको दोस्रो खेलमा दिल्लीले दिएको २०० रनको चुनौती गुजरातले १९ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। साइ सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०३ रन बनाए भने कप्तान गिलले ५३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रनको योगदान दिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली दिल्ली क्यापिटल्सले ओपनर केएल राहुलको अविजित ११२ रनको शतकको मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ र ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए।

गुजरातका लागि अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले समान १-१ विकेट लिए।

यस जितसँगै गुजरात १२ खेलबाट १८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। बेंगलुरु र पञ्जाब समान १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। यी तीनै टोली प्लेअफमा पुगिसकेका छन्।
यसअघि आजैको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १० रनले पराजित गर्दै प्लेअफ नजिकिएको थियो। बेलुकाको खेलपछि प्लेअफको तेस्रो स्थानसमेत टुंगो लागेको हो।
अब बाँकी रहेको एक स्थानका लागि दिल्ली, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।






























