
भन्सार छलि गरेर ल्याइएको ठूलो संख्यामा मोबाइलको डिस्प्ले कैलालीमा प्रहरीले बरामद गरेको छ। आज बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको कमाण्डमा र

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको संयुक्त टोलीले गोदावरी नगरपालिका–०२, बिर बहादुर साउदको घरमा कोठा लिएर बस्दै आएका डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–४ घर भई हाल उक्त स्थानमा बस्दै आएका ३२ वर्षीय मान बहादुर वलीको डेरामा छापा मारेर उक्त सामान बरामद गरेको हो।

प्रहरी टोलीले वलीको कोठामा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी लुकाइछिपाई राखिएको २८२५ थान मोबाइलको डिस्प्ले फेला पारेको जानकारी दिएको छ। उक्त डिस्पेहरूको अनुमानित बजार मूल्य रु. ४२,९७,५००।– (बयालिस लाख सन्तानब्बे हजार पाँच सय रुपैयाँ मात्र) बराबर रहेको डीएसपी चन्दले बताएका छन्।

साथै प्रहरीले भन्सार छलीका ती सामानहरू र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानपछि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।


















