
देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ, भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी प्रदेशका थोरै स्थान र अन्य पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।

राति पनि कोशी र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। मौसम महाशाखाले चट्याङ र वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।






























