
अहमदाबादबाट लन्डन गेटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेपछि स्थानीयवासी स्तब्ध भएका छन्। घटना स्थल वरिपरिका मानिसहरूले विस्फोटजस्तो आवाज सुनेको र ठूलो धुवाँ उठेको बताएका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार घटना अत्यन्त भयावह थियो। “घरभित्र बसिरहेको थिएँ, एक्कासि ठूलो आवाज आयो, सबैथोक हल्लिएको जस्तो लाग्यो। बाहिर निस्कँदा धुवाँ मात्रै देखिन्थ्यो। घटनास्थल पुग्दा थाहा भयो, विमान खसेको रहेछ,” उनले भने।

सोही क्षेत्रकी भाजपा विधायक दर्शना वाघेलाले विमान खसेको स्थान नजिकैको आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाइन्। “कार्यालयमै थिएँ, धमाका भयो। बाहिर निस्कँदा विमान जलिरहेको देखेँ। डाक्टरको आवास क्षेत्रमा क्षति पुगेको छ, हामीले धेरैलाई उद्धार गर्यौँ,” उनले भनिन्।

दिउँसो १:३८ बजे उडेको विमानमा २४२ जना सवार थिए, जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक थिए। विमान उडेको केही समयमै दुर्घटनामा परेपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ।





























