
काठमाडौँ: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र चिकित्सा जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले विधेयक ल्याएको हो। संघीय संसद्को दुवै सदनबाट पारित उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो।


शिक्षामन्त्री सुदन किराँतीका अनुसार स्वदेशमै स्वास्थ्य जनशक्ति उत्पादन गरी सेवा प्रवाहको पहुँच विस्तार गर्ने लक्ष्यका साथ विश्वविद्यालय स्थापना गर्न लागिएको हो।
विधेयकअनुसार नेपाल सरकारले चिकित्सा शिक्षा प्रदान गर्न सक्ने विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था गरिएको छ।
सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचना प्रयोग गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।
































