वर्षाका कारण विनयी खोलाको डाइभर्सन क्षति, नारायणगढ–बुटवल सडक पुनः अवरुद्ध

Image
Nisarga Hospital

निरन्तर वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा पानीको सतह बढ्दा डाइभर्सनमा क्षति पुगेर नारायणगढ–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार मंगलबार राति आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो। बुधवार साँझ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको भए पनि पुनः बढ्दो पानीको बहावका कारण डाइभर्सन फेरि क्षतिग्रस्त बनेको हो।

साथै, दुम्किबास–दाउन्ने सडक खण्डअन्तर्गत विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका क्षेत्रमा सडक चिप्लो भई सवारी साधन फस्ने, चिप्लने समस्या देखिएको छ। यसले गर्दा सवारी सञ्चालनमा समेत गम्भीर अवरोध आएको र यात्रुहरूले सास्ती भोग्नुपरेको प्रहरीले जनाएको छ।

nawajiwan

प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Attariya Hospital
  • पूर्वबाट पश्चिम जाने सवारीका लागि: नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–बुटवल

  • काठमाण्डौबाट पश्चिम जाने सवारीका लागि: मुग्लिङ–पोखरा–स्याङ्जा–बुटवल

  • पश्चिमबाट पूर्व जाने सवारीका लागि: बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ

  • सानो सवारी चलाउने यात्रुहरूका लागि: कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट–पिपलडाँडा सडक प्रयोग गर्न आग्रह गरिएको छ।

गत पुस महिनामा भारतीय ओभरलोड गाडीले ठक्कर दिँदा विनयी पुल भाँचिएपछि डाइभर्सनमार्फत अस्थायी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। तर, सामान्य वर्षा हुँदा पनि विनयी खोलामा आउने बाढीले बारम्बार डाइभर्सन बगाउने समस्या रहँदै आएको छ।

विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा भत्काइएको सडकमा सामान्य वर्षा हुँदा हिलो जम्ने, चिप्लिने र सडकमा फोहोर सन्चय हुने समस्या देखिँदा नियमित सवारी सञ्चालन कठिन बनेको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले यात्रुहरूलाई सतर्क रहन तथा वैकल्पिक मार्ग प्रयोग गर्न पुनः आग्रह गरेको छ।