
अत्तरिया : कैलालीस्थित गेटा आँखा अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार १५ जनालाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरेको छ। तीमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत तथा सूचना अधिकारी गोविन्दप्रसाद जोसीले जानकारी दिए।

गेटा आँखा अस्पताल र यसअन्तर्गतका आँखा उपचार केन्द्रहरूले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए। उक्त अवधिमा १८ वटा सर्जिकल क्याम्प सञ्चालन गरी १० हजार ५७३ जनाको जाँच गरिएकोमा दुई हजार ५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। साथै, २१७ वटा स्पोट स्क्रिनिङ क्याम्पमार्फत २३ हजार ८६५ जनाको आँखा परीक्षण गरिएको थियो।
विद्यालयस्तरमा पनि अस्पतालले आँखा स्वास्थ्य अभियान सञ्चालन गरेको थियो। यस क्रममा ४०८ विद्यालयमा पुगेर ८६ हजार ६४३ विद्यार्थीको आँखा जाँच गरिएको थियो। जाँचका क्रममा दृष्टि समस्या देखिएका एक हजार २८० बालबालिकालाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ।


अस्पतालको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जनाले ओपीडी सेवा लिएका थिए। यसरी हेर्दा गत वर्ष सेवा लिने बिरामीको संख्या अझै बढेको देखिन्छ। अस्पतालले आँखा उपचारका सबै खालका सेवा निरन्तर प्रवाह गर्दै आएको छ।
नेपाल मात्र नभई छिमेकी भारतका विभिन्न स्थानबाट पनि आँखा उपचारका लागि बिरामी आउने गरेको जानकारी दिइएको छ। गेटा आँखा अस्पतालप्रति विश्वास र गुणस्तरीय सेवा प्रवाहका कारण भारतीय बिरामीको चाप लामो समयदेखि रहँदै आएको भए पनि पछिल्लो समय भारतको पलियालगायत स्थानमा आँखा अस्पताल स्थापना भएपछि त्यहाँबाट आउने बिरामीको संख्या केही घटेको अधिकारी जोसीले बताए।

















