
आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने प्राचीन परम्परा रहिआएको छ । यस वर्ष श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।


शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दाजुभाइ, दिदीबहिनी, पत्नी, गुरु–शिष्यलगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्डदान र जल अर्पण गर्नुपर्छ । विश्वास गरिन्छ कि कुशे औँसीदेखि पितृ आत्मा घर–आँगन वरिपरि आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेका हुन्छन् ।
कुन तिथिमा कसको श्राद्ध ?
-
कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा।
-
आमा वा स्त्रीहरूको श्राद्ध नवमी (मातृ नवमी) मा।
-
संन्यास लिएका पुर्खा वा बुबाको एकादशी वा द्वादशीमा।
-
दुर्घटना, डुबान, आगो, विष वा हिंसात्मक मृत्यु भएकाको चतुर्दशीमा।
-
पितृको मृत्यु तिथि अज्ञात भए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास छ।
श्राद्धका नियम र वर्जित अन्न
श्राद्धको दिन शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । मासु, लसुन, प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुनजस्ता तामसी पदार्थ वर्जित मानिन्छ । अरूको अन्न नखाने, स्नान गरी शुद्ध वेशभूषा अपनाउने, र दतिउनले दाँत माझ्ने परम्परा छ ।
श्राद्धमा पाकेको अन्न मात्र प्रयोग गरिन्छ । किरा परेको वा पशुपक्षीले छोएको अन्न वर्जित छ ।
फूल, चन्दन र पिण्डको महत्व
श्राद्धमा पहेँलो वा सेतो फूल चढाइन्छ । चन्दन पनि पहेँलो वा सेतो प्रयोग गर्नुपर्छ, जुन सत्वगुणको प्रतीक हो । रातो चन्दन भने तमोगुणको प्रतीक भएकाले निषेध गरिएको छ ।
श्राद्धमा चामल, दूध, घिउ, चिनी मिसाएर पिण्ड चढाइन्छ । यसको आकार श्राद्धको प्रकारअनुसार फरक हुन्छ—एकोदृष्टमा सरिफा फलजत्रो, वार्षिकमा नरिवल दानाजत्रो, तिर्थ श्राद्धमा अण्डाजत्रो आदि ।
ब्राह्मण र दान
श्राद्धमा शुद्ध, सात्त्विक ब्राह्मणलाई मात्र भोजन र दक्षिणा दिनुपर्छ । मासु खाने, चोरी गर्ने वा अपवित्र कर्म गर्ने ब्राह्मणलाई बोलाउनु हुँदैन भन्ने शास्त्रीय निर्देश छ ।
वैकल्पिक तिथि
समयमै श्राद्ध गर्न नसकिए दीपावलीको औँसी वा मङ्सिर महिनाभित्र वैकल्पिक दिन रोजेर गर्न सकिन्छ । तर, पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्नु सर्वोत्तम मानिन्छ ।
आध्यात्मिक फल
शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्छन् भन्ने विश्वास छ । सोह्र श्राद्ध सकिएलगत्तै दुर्गा पक्ष, दसैँ र तिहार आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देवपूजा गर्ने परम्परा छ ।



















