
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले देशभरको मौसम प्रभावित बनेको छ।

यसको प्रभावमा अहिले देशभर सामान्यतया बदली भएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, लुम्बिनी र देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।


आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान रहेकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
































