
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने जानकारी दिएको छ। आश्विन कृष्ण औँसीका दिन हुने ग्रहणले सोह्रश्राद्ध वा अन्य धार्मिक कर्ममा असर नपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।


धार्मिक अनुष्ठान र वैदिक परम्परामा ग्रहणले सुतक लाग्ने मान्यता भएता पनि, नेपालबाट नदेखिने ग्रहणको सन्दर्भमा कुनै दोष वा नकारात्मक प्रभाव नहुने शास्त्रीय प्रमाण रहेको उनले बताए।
यो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्कटिका लगायत केही देशबाट मात्रै देखिने जनाइएको छ। नेपालका सनातन हिन्दू धर्मावलम्बीले ग्रहण बार्ने, सुतक राख्ने वा सोह्रश्राद्ध स्थगित गर्ने जस्ता धार्मिक उपायमा अनावश्यक चिन्ता गर्नु नपर्ने स्पष्ट गरिएको छ।





























