छोरा, मलाई माफ गर

Image

छोरा, मलाई माफ गर,
मेरा बाआमाले बनाएको ईट्टाको घरमा मैले तिम्रो लागि तला थप्न सकिन,
हो, लाखौँ करोडौंको र पद र पावरको प्रलोभन थियो,
तला थप्न दर्जनौँ अवसर, क्षमता र प्रस्तावहरु थिए,
संसारको कुनै पनि देश जान सक्ने हिम्मत, क्षमता थियो,
तर, छोरा तिम्रो बाबाले उल्टै कहिल्यै DV नै नभर्ने कसम खायो,
तमाम साथीहरु काठमाण्डौको लामो बसाईपछि अमेरिका, अस्ट्रेलिया, जापान तर्फ लागे,
म केवल जननी र जन्मभूमिका लागि घर फर्केँ!

छोरा, मलाई माफ गर,
मलाई मेरा बाआमाले बनाएको ईट्टाको घरमा तला थप्नुको सट्टा,
मलाई मेरो साझा घर बेलौरी/नेपालको जग बनाउन मन लाग्यो,
तिमी जस्तै सबैका छोराछोरी कै जग बनाउने नशा लाग्यो,
र, म निरन्तर यसै नशामा हराएको छुँ, रमाएको छुँ,
र, हो, कसै कसैले भने झै, साँच्चै बहुलाएको छुँ!

nawajiwan
Attariya Hospital

छोरा,
तिमी ऐले नै त यति गहिरो कुरा नबुझ्न सक्छौ,
तर,तिमी अल्ली बढी बुझ्ने भएपछि,
मलाई सोध्ने नै छौ,”तपाईंले समाज/देश बनाउन अरु के के गर्नु भो, र, यो समाज/देश अझ पनि किन बनेन?”
त्यति खेर, कम्तीमा म मेरो छोरासँग आँखा जुधाएर भन्न सक्नेछु,
“छोरा, के गर्न सकें त्यो त मलाई थाह छैन,
तर,मैले के के गरिन भन्छु :
“मैले मेरी आमाको धोती किन्न,
तिम्री मम्मीको गहना किन्न,
र, तिम्रो स्कूलको झोला किन्न,
कसैको फोहरी राजनैतिक या गैरराजनीतिक झोला बोकिन;
चम्चागिरि गरिन या चाप्लुसी गरिन,
करोडौंको सामूहिक/सामाजिक कारोबार गरेँ,
तर, एक रुपैयाँको पनि हेराफेरि गरिन,
र,
हरेक पटक भोट हाल्दा,
आमाको कसम खाएँ,
र, आफ्नो व्यक्तिगत स्वार्थ र संकीर्णताका कारण,
र, जाती, समुदाय, पार्टी, भन्दै कसै भ्रष्टको पक्षमा भोट हालीन!

छोरा,
तिमीलाई के दिन सकेँ, के दिन सकिन थाह छैन,
र, तिमीसँग अरु धेरै केही माग्दिन पनि,
तर,
कम्तीमा तिमी पनि मैले नगरेको भ्रष्ट काम कहिल्यै नगर है!
र, छोरा बुझ, सबैले यसै यसै गरे अझै पनि यो देश बन्नेछ।”

✍️ लक्ष्मण दियाल, शिक्षक
बेलौरी, कञ्चनपुर