आफैसंग

Image
Nisarga Hospital

चिमोट्नु आफूलाई र ऐया भन्नू
थप्थपाउनु आफैलाई र लामो सास तान्नु !
यहाँ कोही आउला

बिचरा भनिदेला भनेर नपर्खिनु !

CP Hospital Dhangadhi

बोलाउनु आफैलाई र हई भन्नु
हराउनु आफैलाई र खै भन्नु
कसैले खोजी गर्ला भनेर नपर्खिनु
पत्ता लगाउनु आफैलाई र पत्तो नदिनु !

टेकेको जमिन ओढेको आकास
पाएको जिन्दगी अनि फेरिरहेको सास
यी भन्दा अर्को छैन केही सम्बन्ध र नाताहरु
आफैभित्र कोलाहल छ आफैभित्र सन्नाटाहरु !

nawajiwan

नरुनु देखिने गरी, हाँस्नु नदेखिने गरी
छायाँ सत्य हो-
कतैबाट उज्यालो आउँदा सम्म मात्र !
माया सत्य हो-
आफै रित्तिएर खन्याउँदा सम्म मात्र !

बाँड्नु आफैलाई एक गड्डी तास
र जोकर बनाउनु आफैलाई
जुट मिलाउनु आफैसंग
र जित्नु आफैलाई, कसैलाई नहराई !

पकाउनु बासना आउने गरी
पस्किनु भाग पुग्ने गरी
र खानु सास आउने गरी
यहाँ कसैले सोध्दैन भोक तिम्रो
यहाँ कसैले छाम्दैन रोग तिम्रो
सुम्सुम्याउनु आफैलाई
र सुई लाउनु सहाराको !
अडेस लाउनु आफैलाई
र गुल्कोज चढाउनु सम्भावनाको !

जे छौ जस्तो छौ
तिमी तिम्रो लागि
असाध्यै राम्रो छौ
आहा नपर्खिनु कोहीबाट
डाहाको परवाह नगर्नु कसैको !

सत्य तिमी हौ, साथी तिमी हौ
इन्धन तिमी हौ, बाती तिमी हौ
नडराउनु हल्ला र मिथ्याहरुसंग
अफवाह र भ्रमभन्दा माथि तिमी हौ !

थाहा पाउनु किन आयौ
बोध गर्नु एकदिन जाने हौ
किन भौतारिन्छौ यहाँ र त्याहाँ
यो खोज्दै र त्यो खोज्दै !
निकाल्नु अलिकति फुर्सद
र बस्नु आफैसंग
आफैलाई अंगालोमा समेट्दै !

एउटा प्रेमपत्र लेख्नु आफैलाई
र सुस्तरी पढ्नु
लजाउनु आफैसंग
र गाली गर्नु ऐनालाई !

कसैले लेखिदिन्न तिम्रो
कथा र कविता यहाँ
विम्ब आफै हौ, पात्र स्वयं तिमी
पाठक आफै हौ लेखक स्वयं तिमी

Attariya Hospital

तिमी तिम्रै प्रेम हौ तिमी तिम्रै अनुराग !
तिमी तिम्रै समर्पण हौ तिमी तिम्रै त्याग !
कसैले गर्दैन तिमीलाई तिमीले भन्दा बढि माया
कसैले चिन्दैन तिमीलाई तिमीले भन्दा बढि यहाँ !

ती स्पष्टिकरणमा खर्चिएका समयहरु समेटर
त्यो बालुवामा खन्याइएको पानीलाई संगालेर

छ्याप्प छ्याप्नु आफैलाई
र बिउँझाउनु निद्राबाट !
च्याप्य समाउनु समयलाई
र निस्किनु भ्रमको पर्दाबाट !

जीवन दिए पनि जोवन दिए पनि
संसार दिए पनि सर्वस्व दिए पनि
कसैले पाएँ भनेको छ र आजसम्म ?

तिमीले तिमीलाई तिमी दिंदा
तिमीले तिमीबाट तिमी पाउँदा
रिस गरेछ कसैले भने गरोस्
कुरा काटेछ कसैले भने काटोस्

आफ्नो अंगालोमा आफ्नै ब्रह्माण्ड छ यहाँ
आफ्नो संगालोमा आफ्नै साम्राज्य छ यहाँ

सुनिएला स्वार्थको कविता जस्तो
देखिएला मतलबी कथा जस्तो
काटे दुख्ने तिमीलाई हो
फाटे रुने तिमी नै हो

मलामी देख्ने छैनौ आफ्नै आँखाले
मृत्यु भोग्ने छैनौ छोएर आफैले
सास छ त जीवन छ आफैसंग
आस छ त जगत छ आफैसंग

बस् तिमी,
बाँचे जस्तो गरी बाँच आफैसंग
मरेपछि फाल्ने त यहाँ कैयौं भेटिन्छन् !
नभेटिए पो के फरक पर्छ र
आफूले आफैलाई भेटाएर बाँचेको
शानदार जीवन हौ तिमी !

त्यही नै प्रयाप्त हुनेछ
जिन्दगीको अन्तिम हरफको लागि !!

✍️हेमन्त गिरी