
नेपाली कांग्रेसका वरिष्ठ नेता जितेन्द्र विक्रम शाही आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा डोटी जिल्लाबाट प्रत्यक्ष तर्फ दोस्रो नम्बरमा उम्मेदवार सिफारिस भएका छन्। डोटी जिल्लाबाट सिफारिस गरिएका १७ उम्मेदवारमध्ये शाहीको अनुभव, योगदान र प्रभावशाली छविका कारण उनको पल्ला सबैभन्दा भारी ठानिएको छ।

शाहीको राजनैतिक यात्रा विद्यार्थी जीवनदेखि सुरु भएको हो। उनले नेपाल विद्यार्थी संघको त्रिचन्द्र क्याम्पस र त्रिवि किर्तिपूरको नेविसंघ एकाइमा सक्रिय रहँदै नेतृत्वको भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कर्मचारी संघ दिपायल शाखाको अध्यक्ष भएर पनि उत्कृष्ट काम गरेका छन्। उनी नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति हुन् र पार्टीको १४औं तथा १५औं अधिवेशनमा महासमिति सदस्यका रूपमा जिम्मेवारी बहन गरिसकेका छन्।
शाहीले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका छन्। डोटी जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन एम्बुलेन्स उपलब्ध गराउन उनका प्रयास उल्लेखनीय छन्। त्यस्तै, जिल्लाका थुप्रै विद्यालयमा शैक्षिक सामग्री वितरण गरी विद्यार्थीहरूको शिक्षामा प्रत्यक्ष सहयोग पुर्याएका छन्।

शैक्षिक योग्यताका हिसाबले पनि शाही डोटीका अन्य उम्मेदवारभन्दा अगाडि रहेका छन्। उनी डोटी जिल्लाको के आई सिँह गाउँपालिका–५ मा जन्मिएका हुन् र सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्रिचन्द्र क्याम्पसबाट बीएससी, त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेपछि हाल मास्टर इन इन्भाइरोमेन्ट अध्ययनमा पिएचडी गरिरहेका छन्।

सामाजिक र राजनीतिक क्षेत्रमा उनको सक्रियता राष्ट्रियस्तरमा समेत प्रशंसनीय छ। विदेशमा रहेका नेपाली समुदायसँग सम्पर्क राख्दै शाहीले शिक्षा, स्वास्थ्य, अनुसन्धान र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएका छन्। उनी व्यापार, खोज तथा अनुसन्धान र सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै डोटी जिल्लाको समग्र विकासमा खटिएका छन्।
उनको अनुभव, नेतृत्व क्षमता, समाजसेवा र शिक्षामा प्राप्त योग्यता डोटी र नेपालको राजनीति दुवैका लागि महत्वपूर्ण ठानिन्छ। जितेन्द्र विक्रम शाहीले आफ्नो प्रभावशाली नेतृत्व र सामाजिक प्रतिबद्धता मार्फत पार्टी र जनताको विश्वास जित्ने स्पष्ट संकेत देखाइरहेका छन्।
उनको राजनीतिक व्यक्तित्व डोटी जिल्लाको विकास, शिक्षा सुधार र स्वास्थ्य क्षेत्रको उन्नतिसँग जोडिएको छ। यिनै गुणहरूले उनलाई प्रतिनिधि सभाको उम्मेदवारको रूपमा मात्र होइन, समाज र राष्ट्रका लागि प्रेरणादायी नेताको रूपमा स्थापित गरेका छन्।
































