
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह हड्डी तथा नसासम्बन्धी गम्भीर समस्या बढ़ेपछि उपचारका लागि शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। हिँडडुल गर्न अप्ठ्यारो बनेपछि उनी स्थलमार्गमार्फत दिल्ली पुगेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार शाहको दायाँ खुट्टामा रिडको हड्डी र नसाको समस्या पहिचान गरिएको छ। उनले यसअघि काठमाडौंको मेडिसिटी र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउँदै आए पनि सुधार नदेखिएपछि चिकित्सकले दिल्ली रेफर गरेका हुन्।

मुख्यमन्त्री शाहले म्याक्स सुपर स्पेसियलिटी हस्पिटल, साकेटमा उपचार गराउनेछन्। प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाह लामो समय दिल्लीमा बस्ने छैनन् र उपचारपछि चाँडै फर्कने योजना छ।

उनी अनुपस्थित रहँदा आन्तरिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह थापा कार्यबाहक मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। शाहको भारत उपचार खर्च व्यक्तिगत रूपमा व्यहोर्ने सचिवालयले जनाएको छ।
































