अत्तरियामा अपाङ्गता भएका बालबालिकालाई न्यानो सहयोग, ७४ विद्यार्थीलाई जकेट वितरण

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा (जकेट) सहयोग गरिएको छ। चिसो मौसम बढेसँगै विद्यार्थीलाई राहत पुग्ने उद्देश्यले बुधबार अत्तरियाका दुई जना समाजसेवीले आफ्नो परिचय गोप्य राख्दै विद्यालयमा आवासीय रूपमा अध्ययनरत ७४ जना विद्यार्थीलाई जकेट वितरण गरेका हुन्।

CP Hospital Dhangadhi

विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँदले चिसो मौसममा न्यानो लुगाको ठूलो आवश्यकता रहेको बेला प्राप्त सहयोगले विद्यार्थीलाई दैनिक पठनपाठनमा सहजता मिल्ने बताए। उनले सहयोग दाताको यो कार्य मानवीय भावना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। यद्यपि, सहयोग दाताले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेको जानकारी पनि उनले दिए।

सुप समावेशी आधारभूत विद्यालयमा शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत छन्। यस्ता विद्यालयमा गरिने सहयोगले बालबालिकाको आत्मबल बढाउनुका साथै समावेशी शिक्षालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।