
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिना एमाले बनाउने प्रयास महाधिवेशन प्रतिनिधिहरूले ध्वस्त पारेको बताएका छन्। एघारौं महाधिवेशनबाट लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि ओलीले यो निर्णय पार्टीभित्र र बाहिर भइरहेका षड्यन्त्रविरुद्धको स्पष्ट जवाफ भएको तर्क गरे।

अध्यक्ष ओलीका अनुसार पार्टी नेतृत्वबाट आफूलाई हटाउने उद्देश्यले भ्रम फैलाउने, मनोवैज्ञानिक दबाब सिर्जना गर्ने र जालझेल गर्ने प्रयास भए पनि प्रतिनिधिहरूको मतले ती सबै प्रयास असफल भएका छन्। ‘केपी ओली बिनाको एमाले’ भन्ने प्रतिक्रियावादी सोचलाई प्रतिनिधिहरूले निर्णायक रूपमा परास्त गरेको उनले बताए।

जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिए पनि आफ्नो राजनीतिक उपादेयता समाप्त नभएको महाधिवेशनको निर्णयले पुष्टि गरेको ओलीको दाबी छ। उनले रातभर जाग्राम बसेर पनि मतदानमा सहभागी भएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

































