
प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले स्वर्गीय जोशीको घर जाने सडकअन्तर्गत पूर्व–पश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडक जोडिने मुख्य चोकलाई ‘विपिन जोशी चोक’ नामकरण गर्ने र सोही स्थानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो।

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले प्रारम्भिक रूपमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। “कार्यपालिकाबाट विपिनको स्मृतिमा चोक नामकरण र शालिक निर्माण गर्ने निर्णय भएको छ,” उनले भने, “हाल विनियोजित रकम पर्याप्त नभएकाले आगामी आर्थिक वर्ष थप बजेट व्यवस्था गरी शालिक स्थापना कार्यलाई पूर्णता दिइनेछ।”

यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले पनि स्वर्गीय विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाइसकेका छन्। नगरपालिकाको यो निर्णयले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनको सम्झनालाई दीर्घकालसम्म जीवित राख्ने अपेक्षा गरिएको छ।

































