
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार बन्न इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै यसअघि सामाजिक सञ्जालमा राखिएका प्रचार सामग्रीसमेत तत्काल हटाउन आग्रह गरेको हो।

पार्टीका अनुसार प्राइमरी निर्वाचनमा सहभागी हुने आकाङ्क्षीले प्राइमरी निर्वाचनसम्बन्धी औपचारिक सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुसार भद्र, मर्यादित र सीमित ढंगले प्रचारप्रसार गर्न पाउनेछन्। सूचनामा केही आकाङ्क्षीले औपचारिक आवेदन नदिइकनै सामाजिक सञ्जालमार्फत उम्मेदवारीको प्रचार गरेको पाइएकाले त्यसले नयाँ तथा अन्य आकाङ्क्षीलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको उल्लेख छ।

यस्ता गतिविधिले पार्टीभित्र अनुशासन र समान अवसरको सिद्धान्तमा असर पर्ने ठहर गर्दै रास्वपाले सबै प्रकारका व्यक्तिगत प्रचार तत्काल रोक्न र आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
































