
काभ्रेपलाञ्चोकको पिप्ले–बर्खेखोला खण्डमा बीपी राजमार्गको पुनःनिर्माण सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। जापानका राजदूत माएदा तोरु र पूर्वाधार सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ३.२ किलोमिटर सडक पुनःनिर्माण सुरु गरिएको हो। सिमिजु कर्पोरेसनले निर्माणको जिम्मा लिएको छ।

सडक डिभिजन भक्तपुरका अनुसार २०८१ असोजको बाढीपहिरोले काभ्रे र सिन्धुलीका करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो। पुनःनिर्माणअन्तर्गत आरसिसी पर्खाल, सडक चौडाइ विस्तार र पुल स्तरोन्नतिको काम भइरहेको छ। पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना छ। परियोजनामा जापानले २ अर्ब ८० करोड येन अनुदान दिनेछ।

सरकारले कुल रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ। बाँकी खण्डमा विभिन्न जेभीमार्फत ठेक्का सम्झौता भइसकेको छ। आगामी चरणमा राजमार्गलाई दुई लेनको आधुनिक संरचनासहित स्तरोन्नति गरिनेछ।

































