
देशका विभिन्न भूभागमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको छ। यसका कारण हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
































