
आइसीसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट आजदेखि नेपालमा सुरु हुँदैछ। बङ्गलादेश, आयरल्यान्ड, जिम्बावेससहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन्।

नेपालले आफ्नो अभियान चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै सुरु गर्नेछ। खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुरु हुनेछ। यस प्रतियोगिताबाट चार राष्ट्रले सन् २०२६ को आइसिसी महिला टी-ट्वान्टी विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्।

नेपाली कप्तान इन्दु बर्माले १८ वर्षको मेहनतपछि यो अवसर पाएको उल्लेख गर्दै, सबै खेलाडी पूर्णतया तयार र उत्साहित रहेको बताइन्। उनले ठूला राष्ट्रसँग खेल्दा सिकेका अनुभव आगामी खेलमा उपयोगी हुने विश्वास व्यक्त गरिन्। कप्तान बर्माले टोलीमा आत्मविश्वास बढेको र निरन्तर राम्रो प्रदर्शन गर्ने योजना रहेको पनि बताइन्।

थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले भने, “पछिल्लो नतिजा बिर्सेर उत्कृष्ट क्रिकेट खेल्ने हाम्रो लक्ष्य हो।” उनले नेपालमै भएको एसिया क्वालिफायरमा च्याम्पियन भएको स्मरण गराइन्।


















