
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा पेश गर्नुपर्नेछ।

आयोगले सार्वजनिक गरेको कार्यसूचीअनुसार नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवार हाल नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा तिनको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाबाट पारिश्रमिक पाउने पदमा बहाल भएमा, सो पदबाट राजीनामा दिएको निस्सा पनि बुझाउनुपर्नेछ।

मनोनयनपत्र दर्ताका क्रममा सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण तथा हस्ताक्षर आवश्यक हुन्छ। राजनीतिक दलबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको निकायले जारी गरेको औपचारिक मनोनयन पत्र पनि अनिवार्य गरिएको छ।

उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसङ्ख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था छ। साथै, सम्पत्ति विवरण, स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम र बेरुजु फर्छ्योटसम्बन्धी निस्सा पनि अनिवार्य रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
































